आज हामी यी विविध विषयको प्रस्तुतिपछि ज्योतिष तथा वास्तु विशेष चर्चामा घडेरीको बारेमा चर्चा गर्छौँ । वास्तु शास्त्र अनुसार कस्तो घडेरीलाई शुभ मानिन्छ ? बाटोको आधारमा घडेरी राम्रो नराम्रो कसरी छुट्याउने भन्ने विषयहरु कुनै पनि संरचना निर्माण गर्दा महत्वपूर्ण हुने गर्दछन् । घडेरीको आसपासमा भएका बाटोहरुले पनि घडेरीमा शुभ र अशुभ प्रभाव दिने गर्दछन् ।
कहिलेकाँही घडेरीलाई छोएर बढेको बाटोले समेत त्यस घरमा बस्नेलाई प्रभाव पार्ने मानिन्छ । त्यसकारण घडेरी किन्दा पनि निकै विचार पु¥याउनुपर्छ भन्ने वास्तु शास्त्रको मान्यता रहेको छ ।कुनै पनि घडेरीबाट पूर्वदिशा तर्फ बाटो छ भने त्यस्तो घडेरीलाई निकै राम्रो घडेरी मानिन्छ ।
घडेरीको उत्तर दिशामा दोबाटो छ भने पनि यसले त्यस घडेरीमा समस्या दिन नसक्ने नै मानिन्छ । यस्तो घडेरीले शुभ प्रभाव नै दिन्छ । तर दक्षिण तथा पश्चिम दिशामा दोबाटो छ भने त्यस्तो अवस्थामा त्यस घडेरीमा दोष हुने मानिन्छ । यस्तो दोष भएको घडेरी त्यहाँ बस्ने मानिसको लागि सफलताको बाधक हुने मानिन्छ ।
कुनै पनि घडेरीको चारैतर्फ बाटो छ र मध्यभागमा एउटा मात्र घडेरी छ भने यस्तो घडेरीमा दोष हुने गर्दछ । धेरै ठूलो समस्या दिने नभएता पनि यस्तो घडेरीलाई अशुभ नै मानिन्छ । त्यसैगरि कुनै पनि घडेरीको १०० हात वरपर कटुस, वर, पिपल, भलायो वाँस आदि बोट विरुवा छन् भने त्यस घडेरीलाई राम्रो मानिँदैन ।
विशेष गरेर १०० हातको दुरी भीत्र २०० हात भन्दा पनि अग्ला यी रुखहरु छन् भने त्यस्तो घडेरीलाई मिलेसम्म छोड्नु नै राम्रो मानिन्छ ।
यदी घर तथा घडेरीको पूर्व दिशा तर्फ ठूला ठूला रुखहरु छन् भने पनि यस्तो अवस्थाको घडेरीलाई राम्रो मानिँदैन ।
त्यसै गरि कुनै पनि वस्तु, रुखको वा चट्टानको छायाँ मध्यान्ह १२ बजे अघि सम्म घडेरीमा पर्छ भने त्यस्तो घडेरीमा शुभ प्रभाव कम हुने वास्तु शास्त्रको मान्यता रहेको छ । यस्तो घडेरीमा वास्तु दोष हुन्छ । वास्तु दोष कम गर्नको लागि ति छायाँ दिने रुख वा वस्तुहरुलाई त्यस स्थानबाट हटाउनुपर्छ । जसरी पनि बिहानको घाम आफ्नो घडेरीमा पर्ने बनाउनुपर्छ । घडेरीमा घाम मात्र पर्दा पनि जमिनमा रहेको अशुभ प्रभाव कम हुने मान्यता रहेको छ ।
घडेरी वा घरको मुख्य प्रवेशद्वार अगाडी दूध आउने वा काँडा भएको विरुवा लगाउनु हुँदैन । दूध आउने वा काँडा भएको रुखहरुलाई अशुभ मानिन्छ । यदी घर तथा घडेरीको अगाडी सेतो आँकको वृक्ष छ भने यस्तो जमिनलाई निकै शुभ मानिन्छ । यस्तो जमिनमा बस्नाले जीवनमा धेरै छिटो प्रगति हुने गर्दछ ।
श्मसान, चिहान, मस्जिद, मन्दिर आदि भएको घडेरीलाई पनि अशुभ मानिन्छ । लाश जलाउने जमिन र लाश गाडेको जमिन छ भने त्यस घडेरीमा कहिले पनि बस्नुहँदैन । यस्तो घडेरीमा बसेमा रोग तथा समस्याले सताउनुका साथै मृत्यु सम्म पनि हुन सक्छ भन्ने वास्तु शास्त्रको तर्क भएकाले यस्तो जमिन पनि प्रयोग नगर्नु नै राम्रो हुन्छ । यसका साथै कुनै पनि जमिनको १०८ हात भित्र चिहान र श्मशानघाट छ भने यस्तो जमिनलार्ई पनि अशुभ मानिन्छ ।
घडेरी वा घरको पूर्व, उत्तर र इशान दिशामा ठूलो रुख, अग्लो डाँडा, वा ठूलो ढिस्को भए पनि अशुभ मानिन्छ । घडेरीको पश्चिम, दक्षिण वा आग्नेय कोणमा जलाशय, खाल्डो, पुल, नदी आदि भएमा पनि अशुभ मानिन्छ । तर यस्तो अवस्थामा पानीको मूल पूर्व दिशामा छ र पानीको निकास पश्चिम दिशादेखि पूर्व दिशा वा दक्षिण देखि उत्तर दिशातर्फ छ भने पनि कुनै दोष लाग्दैन ।
यसरी घडेरीको सही विचार गरेर घर बनाएमा त्यसले मानिसलाई राम्रो प्रभाव दिने गर्दछ । घर बनउँदा घरमा श्मशानको दाउरा वा कोइला, हड्डी, कपालको गुजुल्टो आदि पर्नु पनि अशुभ मानिन्छ ।