बलराम गुरू

सेप्टिक ट्याङ्की कुन दिशामा बनाउने, यस्तो छ वास्तुको सुझाव

बदलिँदो समय र परिवेश सँगै कुनै पनि कुरामा परिवर्तन त आउँछ नै । तर जे जस्ता परिवर्तन आएपनि हरेक कुराको महत्व आफ्नो ठाउँमा त विशेष नै हुन्छ । हामी वास्तु शास्त्रको बारेमा चर्चा गर्ने जमर्को गर्दैछौँ ।

हजारौँ वर्ष पहिले देखि नै निर्माणका कार्यहरु हुँदै आएका छन् । प्राचिन कालका विश्वकर्मा, मय आदि वास्तुशास्त्रका विद्वान्हरु हुन् । कुनै पनि संरचनामा बसेर बढीभन्दा बढी लाभ लिन सकियोस् भन्ने नै वास्तु शास्त्रको उद्देश्य हो । प्राचिन कालका भवन संरचनामा शौचालयलाई भवन देखि टाढा नै बनाइन्थ्यो ।

हामी केही वर्ष अगाडीको इतिहाँसलाई नै हेर्ने हो भने पनि शौचालय घरबाट थोरै भए पनि टाढा बनाएको पाउँथ्यौ । बदलिँदो परिवेशका कारण शौचालय घरमा बनाउनै पर्ने अवस्था अहिलेको समयको माग हो । शौचालय घरमा बनाउँदा यसको फोहोर जम्मा हुने ठाउँ अर्थात् सेप्टी ट्याँकी कहाँ बनाउने त ? यसको बारेमा जान्नु आवश्यक देखिन्छ । घर सबैको लागि आवश्यक हो र शौचालयको मलमूत्र जम्मा हुने स्थान पनि घरमा बस्ने सबैलाई आवश्यक नै हुन्छ ।

वास्तु शास्त्रले पञ्च तत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशको तालमेल मिलाउन सिकाउँछ । यही पञ्चतत्वको तालमेल मिलेको भवनमा बस्ने मानिसले नै जीवनमा धेरै उन्नति गर्न सक्दछ । वास्तु शास्त्रका अनुसार जुन कुनै पनि भवनको पूर्व, उत्तर, दक्षिण, लगायतका स्थानमा सेप्टि ट्याँकी बनाउनु हुँदैन । पूर्व दिशाबाट हाम्रो जीवनका लागि चाहिने सकारात्मक उर्जा दिने सूर्यको प्रकाश आउने भएकाले यसको किरणमा कुनै पनि नराम्रा वस्तुको प्रभाव नहोस् भन्नको लागि नै पूर्वमा सेप्टि टंकी बनाउँनु हुँदैन ।

हामीलाई लाग्न सक्छ सेप्टि टंकी जमिन मुनी हुने भएकाले यसलाई जहाँ राखे पनि केही फरक पर्दैन । तर वास्तु शास्त्र का अनुसार जमिन मुनी नै हुने भएपनि पूर्व दिशामा सेप्टि टंकी बनाउनु हुँदैन । यसरी पूर्वमा बनाइन्छ भने त्यसले घरमा बस्ने मानिसमा नकारात्म विचार र विभिन्न स्वास्थ्य समस्याहरुलाई सिर्जना गर्दछ ।

पूर्व दक्षिणको भागमा पनि सेप्टि टंकी बनाउन निषेध गरिएको छ । यस आग्नेय दिशामा सेप्टि टंकी बनाएमा यसले सेप्टि टंकीमा अग्नी वा भनौँ आगोको प्रभाव पर्न जाने र यसले घरको वातावरणलाई दुषित गर्दछ जसका कारण, घरमा कुनै न कुनै कोलाहाल वा मनमुटावको अवस्था सिर्जना भइरहन्छ ।

दक्षिण दिशालाई यमराजको दिशा मानिएता पनि दक्षिण पश्चिममा पर्ने नैऋत्य दिशा घरमूलीको लागि उपयुक्त कोठा भएकोले यस कोठाको अगाडी नै पर्ने गर्ने दक्षिणमा पनि सेप्टि टंकी बनाउनु हुँदैन । यस स्थानमा जानि नजानी बनाएमा पनि घरमूलीलाई यसैको कारणले गर्दा विभिन्न समस्याहरुले प्रभावित पार्ने र घरमूलीको लागि यो दुर्भाग्यपूर्ण हुने गर्दछ ।

यसले व्यवसाय विगार्ने देखि लिएर झुट्टा केशहरु लाग्न सक्ने संभावना पनि रहन्छ । यस्तै पश्चिम दिशामा पनि सेप्टि टंकी बनाउन निषेध नै गरिएको छ । पश्चिमलाई पनि जलको स्थान मानिन्छ । त्यसकारण पनि पश्चिममा सेप्टि टंकी हुँदैन ।

वास्तु शास्त्रलाई गहन अध्ययन गर्दा कुनै पनि संरचनामा सेप्टि टंकीको लागि सबैभन्दा उपयुक्त स्थान वायव्य अर्थात् उत्तर पश्चिम नै उपयुक्त हो भन्ने देखिन्छ । यसको आध्यात्मिक कारणहरु त धेरै छन् । तर आधुनिक र हाम्रो सामान्य हिसाबले हेर्ने हो भने पनि वायव्यमा सेप्टि टंकी बनाउनु निकै राम्रो देखिन्छ । कुनै पनि संरचनाको यस भागमा सूर्यको किरण हत्तपत्त धेरै आउँदैन ।

गर्मिको समयमा यस भागमा केही थोरै मात्रामा सूर्यको प्रकाश परेपनि जाडोको समयमा पर्न पाउँदैन । सेप्टि टंकी भनेको जहिले पनि फोहोर नै भण्डारण हुने ठाउँ हो । यस स्थानमा फोहोर राख्नाले कुनै पनि हिसावले यस ठाउँको फोहोरले अन्य स्थानमा राखेको भन्दा निकै कम मात्रामा त्यस घरमा नकारात्मक उर्जाहरु फैलाउन सक्छ ।

आफ्नै घरको छायाँले पनि यस भागलाई चिसो राखि राख्न मद्दत गर्ने भएकाले यहाँ सेप्टि टंकी भएमा कुनै पनि जिवाणु तापक्रम घट्ने भएकाले फैलन सक्दैनन् र मानिस स्वस्थ भएर बस्न पाउँछ ।

हाम्रो घरमा यदी यस ठाउँमा सेप्टि टंकी बनेको छैन र पुनः यसै स्थानमा बनाउन पनि संभव छैन भने त्यसका लागि योग्य वास्तु शास्त्रीको सल्लाह अनुसार वास्तु दोष हटाउने उपाय पनि गर्न सकिन्छ ।

सल्लाह सुझाव भएमा , ९८५१२४४३९४ सम्पर्क गर्नुहोला ,

Share the Post:

बलराम गुरूमा प्रकाशित कुनै पनि सामग्री अनुमति बिना कपि गर्न कडाइका साथ निषेध गरिएको छ। उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ।