बलराम गुरू

घरमूलीको सुत्ने कोठा

वास्तु शास्त्रमा निर्माण प्रक्रिया संवधि वर्णन हरु गरिएको छ । यसमा घरमालिक अर्थात् घरमूलीको सुत्ने कोठा कुन स्थानमा बनाउँदा राम्रो हुन्छ भनेर पनि वर्णन गरिएको छ । कुनै पनि घरमा त्यस घरको प्रमुख मानिसको सुत्ने कोठा महत्वपूर्ण हुने गर्दछ ।

जुनसुकै घरमा पनि अन्य सदस्यको भन्दा घरमूलीको जिम्मेवारी धेरै हुने गर्छ । धेरै जिम्मेवारी वहन गर्नुपर्ने भएकाले घरमूली अरु भन्दा बढी नै तनावमा पर्दछन् । तनाव कम गर्ने सबै भन्दा सरल र राम्रो उपाय भनेको आराम हो । तनावको अनुपातमा आराम कम भयो भने मानिस विरामी र अस्वस्थ हुन पुग्दछ । घरमूली अस्वस्थ भएमा घर अस्त व्यस्त हुन जान्छ । यसकारण वास्तु शास्त्रमा घरमूलीको सुत्नेकोठाको बारेमा विशेष स्थानहरु निर्धारण गरिएको छ ।

घरमूलीको सुत्ने कोठा दक्षिण पश्चिम दिशाको विचमा बनाउनु पर्दछ । यस दिशालाई नैऋत्य कोण वा दिशा भन्ने गरिन्छ । नैऋत्यकोण नै घरमूलीको शयन कक्षको लागि राम्रो र शुभ मानिन्छ । घरमा भएका अन्य सुत्ने कोठाहरु भन्दा घरमूलीको सुत्ने कोठा सबैभन्दा ठूलो हुनुपर्ने मान्यता रहेको छ ।

सुत्ने कोठाहरु बाहेक अन्य बैठक कोठा, भान्सा घर आदि भने घरमूलीको कोठा भन्दा ठूलो भएमा पनि कुनै दोष लाग्दैन ।
वास्तु शास्त्र अनुसार घरभित्र नै शौचालय बनाउनु त त्यति राम्रो मानिँदैन तर बदलिँदो देश, काल र परिस्थितिलाई विचार गर्दा घर भित्र नै शौचालय बनाउन सकिन्छ । घर भित्र बनाउँदा पनि कुन स्थानमा बनाउने भनेर विचार गर्नैपर्छ । शौचालय घरमूलीको सुत्ने कोठामा पनि बनाउन सकिन्छ ।

शौचालय बनाउँदा पश्चिम उत्तर दिशाको बिच भाग वा दक्षिण पश्चिम दिशाको बिच भागमा पनि बनाउन सकिन्छ । यसमा याद गर्नुपर्ने कुरा के छ भने यदी यही दिशामा पूजा कोठा वा भान्सा कोठा छ भने शौचालयलाई एकै ठाउँमा बनाउनु राम्रो हुँदैन ।

घरमूलीको कोठाको पूर्व उत्तर भन्दा दक्षिण पश्चिमको भाग अग्लो भएको राम्रो मानिन्छ । यदी होचो अग्लो खालको नभएको अवस्थामा पनि दक्षिण पश्चिमको भाग भन्दा पूर्व उत्तरको भाग अग्लो भने हुनुहुँदैन । वास्तुको नियम अनुसार इशान कोणमा भार वहन गर्ने क्षमता कम हुने भएकाले यो दिशा खाली नै राख्नु राम्रो हुन्छ ।

शयन कक्षमा महत्वपूर्ण मानिने खाट वा पलंग दक्षिण तिरको भित्तामा जोडेर राख्नुपर्छ । यसरी पलङ्ग राख्दा दक्षिण तर्फ वा पूर्व तर्फ शिरानी राखेर सुत्ने किसिमको हुनुपर्छ । ओछ्यानमा सुत्दा कहिले पनि उत्तर तर्फ शिरानी राखेर सुत्नु हुँदैन भनिएको छ भने सकेसम्म पश्चिम दिशा तर्फ शिरानी पनि नराख्नु नै राम्रो हुन्छ । भनिएको छ :

प्राक्शिरा शयने विद्या धनं आयुश्च दक्षिणे ।
पश्चिमे प्रवला चिन्ता हानिर्मृत्युर्थतोत्तरे ।।

शास्त्रहरुका अनुसार विद्याको आवश्यकता पर्ने विद्याथीहरुले पूर्वतर्फ शिरान गरेर सुुत्नु पर्छ । धन धेरै चाहने र आयु चाहनेले दक्षिण दिशामा शिरानी गरेर सुत्ने राम्रो हुन्छ । पश्चिममा शिरानी गरेर सुत्नाले अनावश्यक चिन्ताले सताउने र उत्तरमा शिरानी गरेर सुतेमा विभिन्न प्रकारका हानीहरु हुने र मृत्यु समान कष्ट मिल्ने मानिन्छ । त्यसकारण दक्षिण र पूर्वतिर शिरानी गरेर सुत्नु नै राम्रो मानिन्छ ।

यसै गरि घरमूलीको कोठामा दुइ ढोका राख्नु पनि राम्रो मानिन्छ । यसरी २ ढोका राखेमा घरमूलीको स्वास्थ्य राम्रो हुने बौद्धिकता विकास हुने र कार्यमा सफलता मिल्ने वास्तु शास्त्रको मान्यता रहेको छ । यसरी घरमूलीको कोठाको व्यवस्थापन गर्न नमिल्ने अवस्था छ भने वास्तु शास्त्रीको सल्लाह अनुसार केही उपायहरु गरेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ ।

Share the Post:

बलराम गुरूमा प्रकाशित कुनै पनि सामग्री अनुमति बिना कपि गर्न कडाइका साथ निषेध गरिएको छ। उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ।