बलराम गुरू

वास्तु शास्त्र अनुसार पूजा स्थान कसरी बनाउँदा उपयुक्त हुन्छ त ?

हाम्रो देश नेपालका हरेक मानिसहरु धर्म प्रति विशेष आस्था राख्छन् । हुनत संसारका सबै मानिसहरु धेरै थोरै भएपनि धर्म र इश्वर प्रति आस्था राख्छन् नै । आज हामी हाम्र खगोलमा वास्तु शास्त्रमा बताइएको मन्दिर निर्माणका बारेमा जानकारी लिन्छौँ । धार्मिक आस्था भएको कारणले नै गर्दा कुनै पनि धर्मावलम्बीहरुले इश्वरको आराधना गर्ने स्थान बनाएका छन् ।

चाहे त्यो मस्जिद, चर्च वा मठ मन्दिर नै किन नहोस् । हिन्दुहरुले त घरमा नै पूजा कोठा अलग बनाएका हुन्छन् । आज भोली हामी बजारमा जाँदा पनि पसलमा वा अफिसमा सानो भए पनि पूजा गर्ने ठाउँ बनाएका देख्न पाउँछौ ।

वास्तु शास्त्र अनुसार पूजा स्थान कसरी बनाउँदा उपयुक्त हुन्छ त ?

कुनै पनि साना ठूला जे जस्ता संरचनाहरु भए पनि पूजा गर्ने स्थान भने पूर्व र उत्तर दिशाको मध्य स्थान इशान कोणमा बनाउनुपर्छ । इशान कोण नै पूजा स्थलका लागि उत्तम हुने भएकाले यही स्थानमा पूजा स्थान बनाइनु शुभ हुन्छ । पसल वा कुनै पनि कार्यालयमा वा जुनसुकै स्थानमा इशान कोण नै शुभ हुने भएकाले पूजा गर्ने स्थान यहीँ नै बनाउनुपर्छ । पूजा गर्दा वा मन्दिरमा धूप बत्ती बाल्दा सँधै पूर्व फर्केर गर्नुपर्छ । उत्तर दिशा तर्फ फर्केर गर्नू पनि शुभ नै हुन्छ ।

आजकल शहरको परिवेशमा भने यी नियमहरु पनि केही फरक गर्नुपर्ने हुनसक्छ । यदि आफ्नो घर वा कुनै पनि संरचनाको पूर्व उत्तरको बिच भागमा छिमेकी घरको शौचालय पर्न आउँछ भने इशान कोण भएपनि मन्दिर बनाउनु हुँदैन । देवताको आराधना गर्ने स्थानमा कुनै पनि दुर्गन्धित स्थान छ वा दुर्गन्धित हावा आउँछ भने त्यहाँ बनाउनु हुँदैन ।

यसका लागि बरु पूर्व वा उत्तर तर्फ बनाउनुपर्छ । आफ्नो शौचलय इशान कोण मा नभए पनि छिमेकि घरको शौचालय छ भने त्यस स्थानलाई धेरै शुभ मानिँदैन । साथै आफ्नै घरमा पनि पूजा कोठाको तल वा माथि शौचालय र नुहाउने स्थान बनाउनु हुँदैन ।

यसैगरि पूजा कोठा भित्र पनि गणेशजीको स्थापना दक्षिणमा उत्तरतिर फर्काएर राख्नुपर्छ । दक्षिणतिर फर्काएर राख्नु हुँदैन । यस बाहेक अन्य सबै देवताका चिन्ह तथा मूर्तीहरु पूर्व वा उत्तर तिरको भित्तामा राख्नु राम्रो हुन्छ । पूजा स्थानमा पनि पूजा थाली तथा सामानहरु पश्चिम वा दक्षिण दिशातर्फ राख्नुपर्छ ।

पूजा कोठामा जहिले पनि बत्ती पूर्व दक्षिणको मध्य भागमा राख्नु पर्छ । अग्निको स्थान भएकाले यस भागलाई आग्नेय कोण भनिन्छ । त्यसकारण दीयो वा बत्ति आग्नेय कोणमा नै राख्नु उत्तम हुन्छ ।

पूजाकोठामा गणेश, दीयो का साथै जल भरिएको कलश पनि राख्नुपर्छ । जल भरिएको कलशलाई पूजा कोठाको पूर्व उत्तरमा अर्थात् इशान कोणमा राख्नुपर्छ । पूजा कोठामा बस्दा दक्षिण फर्केर कहिले पनि बस्नु हुँदैन । सकेसम्म पूजा कोठाको ढोका पनि एकैसाथ दुवैतिर खुल्ने दुइभाग भएको हुनुपर्छ ।

पूजाकोठा मा कुनै पनि टुटेफुटेको खण्डित मूर्ति वा तस्विरहरु राख्नु हुँदैन । पूजा कोठालाई स्टोर जस्तो सबै सामान राख्ने बनाउनु हुँदैन । पूजा कोठा वा घरमा हनुमान जीको तस्विर उत्तरमा राख्नुपर्छ र हनुमान जीको मुख दक्षिण फर्केको हुनुपर्छ ।

शास्त्रहरुका अनुसार कुनै पनि आवासका लागि बनाइएको घर भित्र शिवालय बनाउनु हँदैन तर शिवलिंग वा शिवजीको तस्विर राखेर पूजा गर्नु शुभ मानिन्छ । पूजा कोठामा सफा गर्दा निस्किएका वस्तुहरुलाई नदी वा शुद्ध स्थानमा लगेर नै सेलाउनुपर्छ । सफा गर्दा आएका वस्तुहरुलाई घरमा राख्नुहुँदैन ।

पूजा कोठा र शौचालय सँगै बनाउनु अशुभ हुने भएकाले सँगै बनाउनु हुँदैन । सुतेको समयमा पनि मन्दिर तिर गोडा पर्ने गरि नसुत्नु नै राम्रो हुन्छ । यसरी पूजा कोठालाई कहाँ कसरी व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने कुराको वास्तु शास्त्रमा विशद चर्चा गरिएको छ ।

Share the Post:

बलराम गुरूमा प्रकाशित कुनै पनि सामग्री अनुमति बिना कपि गर्न कडाइका साथ निषेध गरिएको छ। उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ।