पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !
ज्योतिष शास्त्रमा ग्रह गणितिय विषयहरुको धेरै चर्चा गरिएको पाइन्छ । यसै गरि वास्तु शास्त्रमा विभिन्न प्रयोजनका लागि निर्माण गरिने भवनहरुमा कस्तो संरचनाहरु हुनुपर्छ र कस्तो प्रयोजनका लागि कस्तो जमिन शुभ हुन्छ भन्ने कुराहरुको बारेमा वर्णन गरिएको छ । ज्योतिष र वास्तु शास्त्र एक आपसमा विशेष संबन्ध राख्दछन् ।
वास्तु शास्त्रको निर्देशन अनुसार तयार भएको कुनै पनि संरचना भित्र यदी गलत समय र अशुभ साइतमा प्रवेश गर्यो भने त त्यसले हानी त गर्छ नै साथै मानिसलाई तनावको अवस्था पनि सिर्जना गर्दछ । वास्तु र ज्योतिष शास्त्रका अनुसार घर नजिकै रोपिएका वा हुर्केका रुखहरुले पनि त्यस घर भित्र बस्ने मानिसहरुलाई सकारात्मक या नकारात्मक ऊर्जाहरु दिइरहेको हुन्छ ।
वास्तु शास्त्रका अनुसार कुनै पनि संरचनाको नजिकै बेलको रुख वा दारिमको रुखहरु छन् भने त्यसलाई शुभ मानिएको छ । यस्ता वृक्षहरु नजिक भएमा यसले घर भित्र हुने हरेका कामकाजमा सकारात्मक प्रभाव पार्दछ । यस्तै केसर, नरिवल जस्ता रुखहरु पनि कुनै पनि कार्यालय वा आवास क्षेत्र भित्र हुनुलाई राम्रो मानिएको छ ।
यसैगरि कुनै पनि यस्ता संरचनाको नजिकै आँप, केरा, नीम , अशोक जस्ता रुखहरु भएमा पनि यसले सकारात्मक ऊर्जाहरु दिन्छ र यसको प्रभावले हरेक कामकाजमा सकारात्मकताको आभाष दिने गर्छ । यसका साथै निबुँ, कागती, शिरीष, मल्लिका जस्ता रुखविरुवाहरु पनि भवन वा कुनै पनि संरचनाको नजिक हुनु वास्तु शास्त्र अनुसार निकै शुभ मानिन्छ ।
यसै गरि वास्तु शास्त्रले कुनै पनि संरचनाका नजिकै रहँदा अशुभ मानिने रुख विरुवाहरुको बारेमा पनि विभिन्न निर्देशनहरु दिएको छ ।
जस्तैः
मालतीं चैव चम्पां च केतकीं कुन्दमेव च ।
मुनिवृक्षं ब्रह्मवृक्षं वर्जयेद् गृहसन्निधौ ।।
अर्थात्, , मालती, चम्पा, केतकी, कुन्द जस्ता विरुवाहरु संरचनाको नजिकै रहनु राम्रो हुँदैन । यस्ता फूल तथा रुखहरुलाई घरको नजिक राखेमा त्यसले नकारात्मक उर्जालाई नै बढाउँछ भन्ने ज्योतिष शास्त्रको मान्यता छ । चम्पा अर्थात् हामीले गाउँघरमा चूवा भन्ने बास्नादार फूलको रुख पनि घरको नजिक हुनु शुभ मानिँदैन । यसैगरि सबैभन्दा बढी अक्सिजन दिनसक्ने सामथ्र्य राख्ने पिपलको रुख पनि घरको नजिकै हुुनुलाई राम्रो मानिँदैन ।
आजकाल शहर बजारमा धेरै मानिसहरुले शनि ग्रहको शान्तिका लागि जल चढाउने मनसायले घरभित्र नै करेसाबारी वा गमलामा पिपल रोपेको देखिन्छ । तर पिपल घर भित्र रोप्नु अशुभ मानिएको छ , यसैले घरभित्र भएको पिपलको रुखलाई हटाउनु नै राम्रो हुन्छ । पिपल मात्र नभइ वरको रुख पनि घर नजिक राम्रो मानिँदैन । यसैगरि हाँगा वा पात टिप्दा दुध जस्तो चोप आउने रुखलाई पनि घर नजिक अशुभ मानिन्छ । काँडा नै काँडा भएको रुखहरु पनि घर नजिक हुनुलाई अशुभ मानिन्छ ।
कागती , नीँबु जस्ता विरुवाहरु भने काँडा नै भए पनि यसलाई घरभित्र लगाउनु शुभ मानिएको छ । कागती र नीँबु बाहेक अन्य काँडेदार वृक्षहरु भने घर नजिक नभएको नै राम्रो हुन्छ ।
यसै गरि कुनै पनि रुखको छायाँ यदी दिनभर घरमा परिरहन्छ र घरमा सूर्यको प्रकाश आउन पाउँदैन भने त्यस्तो घरमा लामो समयसम्म बस्न पाइँदैन वा बसेमा पनि सुखद बसाइ हुँदैन । यस्तो सूर्यको प्रकाश न आउने घरमा बस्न निषेध गरेको छ । त्यसकारण घरमा पर्ने सूर्यको प्रकाशलाई छेक्ने रुखहरु हटाउनुपर्छ ।
यसमा पनि ज्योतिष शास्त्रको यसो भन्छ
प्रथमान्तयामवज्र्यं च द्वित्रिप्रहरसम्भवा ।
छाया वृक्षध्वजादीनां सदा दुःखप्रदायिनी ।।
अर्थात्
दिनको ४ प्रहर मध्ये पहिलो र चौँथो बाहेक दोश्रो र तेश्रो प्रहरमा रुख आदि को छायाँ घरमा पर्दछ भने यसलाई पनि अशुभ मानिन्छ ।
सन्दर्भ ग्रन्थ बृहज्यौतिषसारः (पृष्ठ ९३÷९४ )